नेपालगन्ज मेडिकल कलेजका कर्मचारी १० दिनदेखि धर्नामा



काठमाडौं । तीन महिनादेखिको तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी १० दिनदेखि धर्नामा छन् ।
उनीहरू गत कात्तिक १ देखि कालोपट्टी बाँधेर अस्पताल परिसरमै धर्नामा बसेका हुन् । जसका कारण अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द छ ।
लेखा र प्रशासन शाखामा ताल्चा लगाइएको छ ।
कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा धर्ना दिइरहेको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले बताए ।
आन्दोलनरत पक्षले तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बिमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायत ७ बुँदे माग राखेको छ । तर व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ ।
अस्पताल उपनिर्देशक डा. दिनेश श्रेष्ठ कर्मचारीका माग जायज भए पनि संस्था घाटामा रहेकाले तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।
प्रशासकीय कार्यकक्षमा तालाबन्दी गरेका स्वास्थ्यकर्मी र कर्मचारीले गत बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् ।
सरकारले उपलब्ध गराएको सेवासुविधासमेत अस्पताल प्रशासनले आफैंले राखेर कर्मचारीहरूलाई नदिएको उनीहरूको आरोप छ ।
अस्पताल निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोनाका कारण संस्थाको अवस्थालाई मध्यनजर गर्दै माग सम्बोधन गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्