‘तान्त्रिक किलर’को रहस्यमय कारागार यात्रा



  • सुरेश तामाङ

काठमाडौं । नेपाली सिरियल किलरमध्येको एक कुख्यात नाम हो, अभिषेकराज सिंह। उनी नेपाली ‘शोभराज’को नामले समेत परिचित छन्। नेपालगंज– ३, बाँकेका सिंह २०७० सालमा पक्राउ परे। उनलाई त्यसबेला महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।

तन्त्रमन्त्र सिकेका उनले धार्मिक आवरणमा विभिन्न खाले अपराध गर्दै ‘सिरियल किलर’को कुख्याती कमाएका थिए। उनीमाथि ६ जनाभन्दा बढी व्यक्तिको शृंखलाबद्ध हत्या गरेको अभियोग छ। सोही मुद्दामा उनी ललितपुरको नख्खु कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए। तर, २०७५ वैशाखमा नख्खु कारागारभित्रै अर्का कैदी भक्तबहादुर सुनुवारलाई खानामा मन्द बिष मिसाएर हत्या गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरमा राखिएको थियो ।

त्यसपछि पछिल्लो पटक उनलाई मोरङ कारागार सारिएको छ । सिंहले विभिन्न वनस्पति प्रयोग गरी मन्द बिष बनाएर सुनुवारलाई खुवाएका थिए । आफूले बनाएको बिषको परीक्षण उनले सुनुवारमाथि गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबेला गरेको अनुसन्धानमा खुलेको थियो । सिंहलाई कारागार सारिरहनु आवश्यक रहेको प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक विष्णुबहादुर केसीले कैदीले कारागारभित्र रहँदा कुनै गम्भीर विवाद सिर्जना गर्दै गरेको शंका लागेमा कैदीलाई अन्य कारागार सार्नुपर्ने आवश्यकता रहेको बताए। ‘कैदीले कारागारमा रहँदा विवाद सिर्जना गर्दै गरेको लागेमा उसलाई अन्य कारागारमा सार्नुपर्छ । थप क्षति नहोस् भन्ने हेतुले यसो गर्नुपर्ने हुन्छ’, उनले भने।

अर्थपूर्ण स्थानान्तरण
कारागार राख्दा पनि सिंहले अपराधका थप योजना बुनिरहेकाले उनलाई कारागार स्थानान्तरण गर्नुपरेको प्रहरी अधिकारीहरू नै स्वीकार्छन्। तर, पछिल्लो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएसँगै उनको कारागार स्थानान्तरणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आफूअनुकूल चलखेल गर्न कैदीबन्दीले भूगोलअनुसारको कारागार फेर्ने चलन चल्दै आएको छ ।

नेपालका चर्चित कैदीले यस्तै माध्यम अपनाउने गरेका छन् । कतिपय ‘हाई प्रोफाइल’ कैदीबन्दीले जेलभित्रैबाट पुरानै किसिमका अपराध दोहोर्‍याइरहेका घटना पनि सेलाउन पाएका छैनन् । पूर्व प्रहरी नायव उपरीक्षक (डीआईजी) हेमन्त मल्लले कैदीबन्दी एकै स्थानमा रहिरहँदा उसले सञ्जाल बनाएर थप अपराध गर्न सक्ने भएकाले कैदीलाई एक कारागारबाट अर्काे कारागारमा सार्नुपरेको बताए ।

कैदीले आफूअनुकूल चलखेल गर्ने ठाउँ खोजेर राजनीतिक शक्तिको आडमा कारागार सर्ने पनि प्रवृत्ति रहेको डीआईजी मल्लले खुलाए । ‘यदि राजनीतिक पावर भएको कैदी भएको खण्डमा उसले चल्न पाउने भूगोल खोजेर पनि कारागार सर्ने बाटो रोज्छ’, उनले भने ।

यसरी सुरु भयोे अपराध यात्रा
सिंहले गर्ने गरेका अधिकांश हत्या क्रूर तरिकाको हुने गरेको पाइएको छ । मध्यम वर्गीय परिवारमा जन्मिएका उनका बुबाको सशस्त्र द्वन्द्वमा माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । त्यसपछि उनी ‘मानिसक रूपमा विचलित’ हुन थालेको प्रहरी अधिकारीको भनाइ छ। आफ्ना बुबाको हत्याको बदला लिने क्रममा उनले विभिन्न व्यक्तिको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ।

बुबाको हत्यालगत्तै बाँकेमै उनले २ जना युवालाई गोली हानी मारेका थिए । त्यसपछि उनी भारत भागे । द्वन्द्वको समय भएकाले सो घटनाको गम्भीरताका साथ अनुसन्धान भएन ।भारतमा बस्दा पनि उनी आपराधिक समूहमै आबद्ध थिए । २०६४ सालदेखि उनी काठमाडौं बस्न थालेका हुन् । उनले योगगुरु र तान्त्रिकको समेत परिचय बनाएका थिए । तन्त्र–मन्त्रमार्फत रोग निको पारिदिने भन्दै उनले सोही माध्यम बनाएर पैसा कमाउन थाले । त्यही कामको सिलसिलामा उनको धनाढ्यहरूसँग बाग्लो उठबस हुन थाल्यो । यससँगै उनको अपराधको पाटो पनि सुरु हुन्छ । उनले पहिलो हत्या २०६७ सालमा गरेका थिए।

योग सिकाउने क्रममा धनाढ्य मदन राणासँग उनको भेट भयो । राणाले जग्गा बेच्न खोजेका थिए । त्यसमा सहयोग गरेर कमिसन खाने उनको योजना थियो । तर, राणाले इचङ्गुनारायणका नरबहादुर गोतामेलाई जग्गा बेच्ने जिम्मा दिएका थिए । सिंहले गोतामेसँग मिलेर जग्गा बेच्ने प्रस्ताव राखे तर गोतामेले एक्लै बिक्री गरी कमिसन खाएका थिए । त्यसैको प्रतिशोधमा म्युजिक भिडियोमा अभिनय गराउने भन्दै गोतामेलाई सुर्खेतको वीरेन्द्रनगर पुर्‍याएका थिए । त्यहाँ आशीर्वाद होेटेलमा झाडापखलाको औषधि भन्दै इन्जेक्सन दिई बेहोस बनाएर गोतामेको हत्या गरेका थिए । त्यस घटनापछि उनी भारत भागेका थिए।

केही समयपछि उनी नेपाल फर्किए र समीर घिमिरेको नाममा नागरिकता बनाएर तान्त्रिक काम सुरु गरेका थिए । त्यसको २ वर्षपछि उनले दोस्रो हत्या गरे । ७ साउन २०६९ मा उनले लखनऊ पुर्‍याएर जगतमान तामाङको हत्या गरेका हुन् । तामाङसँग आर्थिक कारोबारमा विवाद भएपछि उनले बेहोस हुने औषधि खुवाएका थिए । गाडीमै बेहोस बनाई उनले एकान्तमा फालिदिएका थिए । आफ्नै घरमा काम गर्न राखेका सार्की तामाङलाई पनि उनले सोही वर्ष हत्या गरेका थिए । सुन्धाराको न्यू आकाश गेष्ट हाउसमा बेहोस हुने औषधि खुवाएर उनले हत्या गरेका हुन्, जुन घटना पनि लामो समयसम्म पत्ता लागेको थिएन । २०७० असोज पहिलो हप्ता लोमस फर्मास्युटिकल्समा स्टोरकिपरका रूपमा काम गर्ने निरन पाण्डे बेपत्ता भएपछि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाएको थियो । मणिको कारोबार गर्ने भन्दै सिंहले एक जना साथीको कारमा पाण्डेलाई तराई लिएर गएका थिए।

उनलाई पनि गाडीमै बेहोस बनाई धनुषाको लालगढमा फालिदिएका थिए । हाइवेकै छेउमा पाण्डेको शव भेटिएको थियो । सिंहलाई पक्राउ गरेर सोधपुछ गर्दा मात्र उनले हत्या गरेको खुलेको थियो । ४ वटा घटनामा प्रहरीलाई छक्याउन सफल भएका उनी पाँचौँ पटकको हत्यामा भने प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेपछि गर्वका साथ उनले आफूले गरेका हत्या स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्