काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने-नगर्नेबारे सत्ता गठबन्धनबीच खटपट भइरहँदा सत्तारुढ दलका भ्रातृ सङ्गठन भने एमसीसीको विरोधमा उत्रिएका छन् । माउ पार्टीहरू घुमाउरो ढंगमा एमसीसीबारे लचक हुँदा विद्यार्थी र अन्य भ्रातृ सङ्गठन दिनहुँ आन्दोलनमा सामेल भइरहेका छन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका भ्रातृ सङ्गठन चर्का नाराबाजीसहित सडकमा छन् । जनमोर्चा विगतदेखिनै एमसीसीको विरोधमा छ । सत्ता गठबन्धन भाँडिने निधो भएपछि नेकपा एसले शनिबार एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको थियो । पार्टी स्थायी समिति बैठकमा सदस्यहरूले सत्ता गठबन्धन टिकाउनुपर्ने धारणा राखेपछि नेकपा एसले एमसीसी टेबुल गर्न दिने मध्यमार्गी धार लिएको छ । सो पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरूले सम्झौताको विरोधमा आइतबार देशव्यापी प्रदर्शन गरे।
लोकतान्त्रिक विधि र संसदीय अभ्यासअनुसार प्रस्ताव संसद्मा टेबुल भए पनि नेकपा एस एमसीसी प्रस्तावको विपक्षमा रहेकाले आन्दोलन नरोकिने सो पार्टीको युवा संघ नेपालका उपाध्यक्ष सञ्जीव राईले बताए । ‘प्रस्ताव टेबुल नै हुन नदिनु अतिवाद हुन्छ भन्ने पार्टीको ठहर हो’, उनले भने, ‘तर, हाम्रो पार्टी एमसीसीको विरोधमा छ, प्रस्ताव टेबुल हुनु अन्तिम निर्णय होइन, पार्टीका सबै संघसंस्था आन्दोलनमा रहन्छन् ।’ प्रस्ताव संशोधन नभई पास भएमा, नेकपा एमालेले प्रस्ताव समर्थन गरेमा आन्दोलन अझ सशक्त हुने उनको भनाइ छ। एमसीसीबारे नेताहरूले प्रस्ट धारणा तय गर्न नसक्दा माओवादीको सचिवालय र केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
यसअघि २७ माघका लागि बोलाइएको केन्द्रीय समिति बैठक एक दिनपछि धकेलिएर स्थगित भएको थियो। गत सातादेखि सो पार्टीका भ्रातृ संघसंस्था नियमित आन्दोलनमा छन् । एमसीसीको विरोधमा हरेक दिन काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुने गरेको छ । एमसीसीबारे पार्टीले दोहोरो चरित्र प्रदर्शन गरेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको अखिल क्रान्तिकारीका पदाधिकारी बताउँछन् । पार्टी कुनै पनि हालतमा प्रस्तावको पक्षमा नरहने बताउँदै अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने, ‘हाम्रो पार्टी राष्ट्रघाती कदमको पक्षमा रहँदैन, हामी आन्दोलन जारी राख्छौँ ।’ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङले सत्ता गठबन्धनको औचित्य सकिएको बताएका छन् । एमसीसी संसद्मा टेबुल गर्न पार्टीले सहयोग गरेको भन्दै उनले पार्टी सरकारबाट बाहिरिनुपर्ने उनको धारणा छ ।
‘संसद् कहिले प्रतिगमनको शिकार, कहिले राष्ट्रघातको साक्षी बन्नु दुर्भाग्यपूर्ण छ, समयक्रममा जनताले यसको हिसाब–किताब जरुर गर्नेछन्’, आइतबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब पार्टी राष्ट्रघातको सारथि होइन, गठबन्धनको औचित्य नरहेकाले सरकारबाट तत्काल बाहिरिनुपर्छ ।’ सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी (जसपा) विगतदेखिनै एमसीसीको पक्षमा खुलेकाले सो पार्टीका भ्रातृ सङ्गठन आन्दोलनमा छैनन् ।