स्पेनिस ला लिगा : बार्सिलोना पराजित, प्रशिक्षक कोम्यान बर्खास्त



काठमाडौँ : स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोना रायो भालेकानोसँग १–० गोलले पराजित हुन पुगेको हो । घरेलु मैदानमा रायो भालेकानोलाई जिताउन राडामेल फाल्काओले ३०औं मिनेटमा गोल गरे । फाल्काओले ओस्कार ट्रेजोको पासमा गोल गरेका थिए । ६९ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बार्सिलोनाले गोल गर्न सकेन । जितसँगै पाँचौं स्थानमा उक्लिएको रायो भालेकानोको ११ खेलबाट १९ अंक पुगेको छ । लगातारको खराब प्रदर्शनपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बखास्त गरेको छ ।

लगातार दोस्रो हार खेपेको बार्सिलोना १५ अंक सहित नवौं स्थानमा छ । यसअघि ‘एल क्लासिको’ भिडन्तमा पनि बार्सिलोना रियल म्याड्रिडसँग २–१ गोलले पराजित भएको थियो । यसैगरी अर्को खेलमा सेभिया १० खेलाडीमा समेटिएको मालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएको छ । मालोर्काको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्काले सुरुवाती अग्रता लिएको थियो ।

२२औं मिनेटमा एन्टोनियो सान्चेजले गोल गर्दै मालोर्कालाई अग्रता दिलाए । ७३औं मिनेटमा सेभियाका इरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा जउमो कोस्टा रातो कार्ड पाउँदै बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्