भूकम्पले चीनमा ११ जनाको ज्यान लियाे



काठमाडौं  : सोमबार राति र मंगलबार गएको २ ओटा शक्तिशाली भूकम्पका कारण दक्षिण पश्चिम चीनमा ११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण अहिलेसम्म १ सय २२ जना घाइते भएका जनाइएको छ ।

सिन्ह्वा समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ ।

यस्तै, मंगलबार विहान फेरि ५.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । मंगलबार विहानको भूकम्प पनि यिबिन शहरको १६ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भूकम्पका कारण करिब ४ हजार मानिस प्रभावित भएका जनाइएको छ । भूकम्पको झट्काले दर्जनौं संरचनाहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्