नर्भिक हस्पिटलमा स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा दिइने



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ।
आगामी शनिबार कात्तिक १३ गते अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपीडी सेवा सञ्चालन हुने नर्भिकले जनाएको हो।
अस्पतालका अनुसार स्तन क्यान्सर विशेषज्ञ डा.वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने छिन्।
पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ।
यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले निःशुल्क ओपीडी सेवामा आएर लाभ लिनसक्ने डा। गिरीले जानकारी दिइन्।
नर्भिकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ।
यो सेवाअन्तर्गत प्रत्येक शनिबार बिहान १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपीडी सेवा दिने छन्।
निःशुल्क ओपीडी सेवाप्रतिको सर्वसाधारणको आकर्षण बढिरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्