प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बेलायतमा भेटवार्ता गर्ने भएका छन्।
स्कटल्यान्डस्थित ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएका हुन्।
कोप २६ को साइडलाइन वार्ताका क्रममा प्रम देउवा र भारतीय प्रम मोदीबीच अर्को साता भेटवार्ता हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ। उक्त भेट देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक हुन लागेको हो।
उक्त वार्ताका लागि नेपालले भारतसमक्ष आग्रह गरेको थियो। जुन आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो।
कोप–२६ यही बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो सहरमा यही कात्तिक १२–१६ मा हुने तय भएको छ।
उक्त सम्मेलनमा नेपाली प्रतिनिधिको नेतृत्व प्रधानमन्त्री देउवाले गर्ने छन्। जसको लागि उनी शुक्रबार बेलायततर्फ प्रस्थान गर्दैछन्।
देउवाले साउन ३ मा संसद्‌बाट विश्वासको मत लिएपछि मात्र भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाई दिएका थिए।
बेलायतमा हुने भेटले प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको सम्बन्धमा सुधार आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्