मोर्डना र फाइजरको १ करोड डोज खोप बुक भइसक्योः स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले अमेरिकासँग मोर्डना र फाइजरको १ करोड डोज खोप बुक गरिसकेको बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेकाले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउनका लागि एक करोड डोज खोप बुक गरिसकेको बताएका हुन्।
उनले भने, ‘यो भन्दा अगाडि १८ वर्षमाथिका व्यक्तिहरुका लागि मात्रै खोप बनेको थियो र त्यही समूहले मात्र खोप लगाएका थिए। अहिले १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउने खोप उत्पादन भइसकेको र विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेकाले गर्दा १२ वर्षमाथिकालाई खोप दिन एक करोड खोप बुक गरिसकेका छौँ।’
मन्त्री खतिवडाले अमेरिकाबाट ल्याइने १ करोड फाइजर र मोडर्ना खोप ५० लाखलाई पुग्ने बताए।
बिहीबार अमेरिकी सरकारले कोभ्याक्समार्फत १ लाख २० हजार डोज खोप नेपालाई उपलब्ध गराएको थियो।
त्यसैगरी मन्त्री खतिवडाका अनुसार चीन र भारतले १२ वर्षभन्दा कम उमेरका बालकालिकाका लागि नयाँ खोप परीक्षण गरिहरहेको बताउँदै जुन देशले अगाडि मान्यता पायो त्यहीँबाट १२ वर्षभन्दा कमका बालबालिकाका लागि खोप खरिद गरिने छ।
यसैबीच, उनले आफ्नो कार्यकालमा भ्रष्टाचार नहुने पनि बताएका छन् । ‘मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनुहुन्न र पाउन दिन्न भनेर अठोट गरेको छु,’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्