बाइडेन पुटिनसँग वार्ताका लागि तयार



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन सैद्धान्तिक रूपमा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेनको समस्याबारे छलफल गर्न एउटा शिखर बैठक आयोजना गर्न तयार भएका छन् । तर, फ्रान्सले प्रस्तावित गरेको यो वार्ता रुसले आफ्नो छिमेकी युक्रेनमाथि हमला नगर्ने सर्तमा मात्र सम्भव हुने ह्वाइट हाउसले जनाएको छ ।

दशकौँपछि युरोपमा देखापरेको सबैभन्दा खराब सुरक्षा समस्याहरूमध्ये एक यसको सम्भावित कूटनीतिक समाधान खोज्न सो बैठक सफल हुन सक्ने बताइएको छ । अमेरिकी अधिकारीहरूले गुप्तचर सूत्रलाई हवाला दिँदै रुस सैनिक कारबाही गर्न तयारी अवस्थामा रहेको बताउने गरेका छन् । तर, रुसले भने आफ्नो आक्रमण गर्ने कुनै मनसाय र योजना नरहेको अडान दोहोर्‍याउँदै आएको छ ।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँ र पुटिनबीच दुईपटक गरी झन्डै तीन घन्टासम्म भएको टेलिफोन वार्तापछि यस बैठकका लागि प्रस्ताव अघि सारिएको थियो । पुटिन र म्याक्रोँबीचको दोस्रो टेलिफोन वार्ता मस्कोको स्थानीय समयानुसार सोमबार बिहान सबेरै भएको थियो । त्यसलगत्तै बाइडेन र म्याक्रोँबीच १५ मिनेट लामो टेलिफोन वार्ता भएको थियो ।

म्याक्रोँको कार्यालयले बिहीबार हुने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनका रुसी समकक्षी सर्गेइ लाभ्रोभबीचको भेटघाटका दौरान उक्त सम्भावित बैठकबारे विस्तृत छलफल हुने जनाएको छ । ह्वाइट हाउसले यस बैठकको प्रस्ताव आएको पुष्टि गर्दै जारी विज्ञप्तिमा रुस चाँडै नै युक्रेनमाथि हुने पूर्ण चरणको आक्रमणका लागि तयारीमा जुटेको उल्लेख छ ।

त्यस्तो केही भइहालेको खण्डमा अमेरिका पनि तत्काल गम्भीर परिणाम दिन तयार रहेको जनाएको छ । बाइडेन सरकारका अनुसार रुसले युक्रेन वरपर पूर्वी युक्रेनको दोनेत्स्क तथा लुहान्स्कका पृथकतावादी गरी आफ्नो कुल एक लाख ९० हजार फौज तयारी अवस्थामा राखेको छ । बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्