दक्षिण भारतीय अभिनेता रामचरण नेपालमा आउँदै



एजेन्सी । पछिल्लो समय नेपालमा थुप्रै विदेशी फिल्मको छायांकन भइरहेको छ । बलिउडको ठूलो बजेट फिल्म ‘उचाइँ’ पछिल्लो समय नेपालमा छायांकन भएको थियो ।

त्यसपछि दक्षिण भारतीय अभिनेता विजय सेतुपाथी र केके मेनन पनि नेपालमा फिल्मको छायांकनका लागि आएका थिए । उनीहरुले अभिनय गरेको उक्त फिल्मको छायांकन उपत्यकाको बसन्तपुर क्षेत्रसँगै अन्य क्षेत्रमा भएको थियो ।

नेपालमा बढ्दै गएको विदेशी फिल्मको छायांकनमा अर्को फिल्म पनि थपिने भएको छ । दक्षिण भारतीय अभिनेता रामचरणको नयाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ । फिल्मको छायांकनका लागि फेब्रुअरी २८ मा उनी नेपाल आउन लागेका हुन् ।

रामचरणले नेपालमा छायांकन गर्ने फिल्मको नाम सार्वजनिक गरिएको छैन। फिल्मको नेपालमा छायांकनको व्यवस्थापनको जिम्मा लिएको थ्री ह्विल्स प्रालिका अनुसार उक्त फिल्मको छायांकन काठमाडौंसँगै मनाङ र मुस्ताङमा हुनेछ।

कम्पनीका अनुसार फिल्मको छायांकन आउँदो अप्रिलबाट सुरु हुनेछ। मौसमका कारण यसअघि नै हुने भनिएको छायांकन केही पछि सरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्