प्राकृतिक विपद्मा परी बेपत्ताका परिवारलाई पनि राहत दिइने



काठमाडौं । सरकारले बाढीपहिरो र डुबानका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
सरकारले यसअघि बाढीपहिरो र डुबानमा परी मृत्यु हुने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरिसकेको छ ।
यसैगरी, सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय गरेको छ ।
जुम्ला सदरमुकाम खलंगामा झरीले डुबानमा परेका खेत र किसानले काटेर राखेको मार्सीधान । तस्बिर स् एलपी देवकोटारकान्तिपर
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार सरकारले साना किसान बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ ।
त्यस्तै, मध्यम किसान अर्थात् १० कठ्ठादेखि ३ बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ ।
कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।
सरकारले यसअघि धानबालीमा भएको क्षतिको विवरण यकिन गर्न गहृसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्