सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीसहित केही विद्यार्थी घाइते



सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विश्वविद्यालयकाे नवाैं स्थापना दिवसको अवसरमा भएकाे कार्यक्रममा भएकाे झडपमा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन्। 

स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि-सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले कार्यक्रम स्थलमै नाराबाजी र ढुंगामुडा भएकाे थियाे। 

काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेसन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले संयुक्त आन्दोलन गरेका हुन्। प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरबितर पार्न खाेजेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार झडपमा घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। आन्दोलनमा सहभागी दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका विद्यार्थीको परिचय भने खुलाइएको छैन।

आन्दोलनरत विद्यार्थीले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छन्। अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीका अनुसार कार्यक्रमस्थलमा विद्यार्थीको नाराबाजी जारी छ।

आन्दोलनका कारण विश्वविधालयको वार्षिकाेत्सव कार्यक्रम प्रभावित भएको छ। कार्यक्रममा सहभागी हुन आएका भीआईपी र पदाधिकारी प्रहरीको सुरक्षामा छन्। कार्यक्रम भइरहेको सभाहलमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्