शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुको आरोप



काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताएका छन्। त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन्।

छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्या तालाबन्दीबाट नहुने बताए। उनले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताए।

प्राध्यापक मानन्धरले भने, ‘अहिले त त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भन्दा पनि अलिकति आत्मग्लानी हुन्छ कि भन्ने किसिमको पनि सोच कहिले काहीँ आउँदो रहेछ। तर, आफूले राम्रो काम गरेको हो अहिलेको स्थितिमा त मेरो के नियन्त्रण हुन्छ र भन्ने सान्त्वना आफैँले आफैँलाई दिने गर्छु म। तालाबन्दी गरेर समस्याको समाधान हुँदैन।’

त्यस्तै, प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरुले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने बताए। उनले कतिपय बेलामा विद्यार्थीहरुको विषय एक तर माग अर्को हुने गरेको पनि बताए।

प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा शिक्षामाथि नै आक्रमण भइरहेको बताए। उनले विद्यालयहरु राजनीतिक पार्टीहरुको षड्यन्त्र गर्ने ठाएँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरुलाई शिक्षामा असर पार्न दिनबाट रौक्न सक्नुपर्ने बताए। पछिल्लो समय राजनीतिक नेतृत्वकर्ताहरुमा भइरहेको संस्कृतिको विकासका कारण नै शिक्षामा समस्या भइरहेको उनले बताए।

प्राध्यापक पोखरेलले भने, ‘ताला लगाउने सबै कुराको समाधान होइन। ताला लगाएर भागेर हिँड्ने जुन किसिमको प्रवृत्ति छ, त्यो प्रवृत्तिको पनि म आलोचक हुँ। फेस गरेर समस्याको समाधान गर्न सक्नुपर्छ। छलफलबाट समस्या समाधान गर्न सकिन्छ।’

त्यस्तै, प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताए। उनले देश संघीयतामा गएको भनेपनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको बताए।

उनले हरेक प्रदेशमा सरकारले एकरएक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राखे। प्राध्यापक चेम्जोङले विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको र्‍याङ्किङमा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको बताए। उनले राजनीतिक दलहरुप्रति व्यंग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरुलाई स्थान दिन सुझाव दिए।

छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरु विद्यार्थीहरुसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराए। उनले त्रिवि आफैँमा समस्याको भण्डार भएकोले दीर्घकालीन रुपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्