एमसीसीको वास्तविक छलफल अब सदनमा हुन्छ : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसीसी)को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिएका हुन् ।

पौडेलले भने– ‘एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसदमा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उनले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले भने– ‘एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ । सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।’

 

प्रतिक्रिया दिनुहोस्