रिब्दीकोटमा बीउ स्रोत केन्द्र सञ्चालनमा



पाल्पा : पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको ६० लाख रुपैयाँ लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो। केन्द्रमा १ घण्टामा ४ टनसम्म गहुँको बीउ ग्रेडिङ गर्ने क्षमता रहेको छ ।

मशिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बीउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । स्थानीयस्तरमा उत्पादित अन्नबालीको बीउलाई लामो समयसम्म भण्डारण गरी राख्न समस्या रहेको थियो। बीउ भण्डारमा समस्या हुँदा गुणस्तरीय बीउको समेत अभाव रहेको थियो । मशिन सञ्चालनमा आएपछि गुणस्तरीय बीउ सहज रूपमा पाउने अध्यक्ष जिसीले बताए । पाल्पामा उत्पादित गहुँ, मकै, फापर र कोदो लगायतका बीउ ग्रेडिङ कार्य थालिएको छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गरेर कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिका लागिपरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताइन्।

कृषियन्त्र तथा उपकरणको माध्यमबाट कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा प्रशस्त बजेट लगानी गर्न थालेको उपाध्यक्ष खनालले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले मशिन सञ्चालन गर्दा किसानलाई गुणस्तरीय बीउ उत्पादनमा सुविधा हुने बताए । धान, गहुँ, मकै, फापर र कोदो लगायतका बीउ ग्रेडिङ गर्न समस्या रहेको गाउँपालिकाले मशिन सञ्चालनमा ल्याएपछि कृषि उत्पादनमा राम्रो हुने उनले बताए । कृषि क्षेत्रमा आधुनिकीकरण गरेसँगै उत्पादनमा वृद्धि र रोजगारीका अवसर बढेको छ। पाल्पाका पालिकाले कृषि उत्पादनमा वृद्धि र युवा कृषि पेशामा आकर्षण बढाउन मिनिट्रिलर, टनेल, हाते ट्रयाक्टर लगायतका सामग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्