गृहमन्त्रालयले भन्यो : एमसीसीको विरोधमा हिंसात्मक गतिविधि नगर्नू ‘विज्ञप्ति’



काठमाडौं । सरकारले एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न भनेको छ । गृह मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै घटनाको छानबिन भइरहेको जनाएको छ ।

‘यस्ता हिंसात्मक  कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन् । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ,’ गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

गृहले सरकार नागरिकको जिउ धनको  सुरक्षा गर्न  तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको बताएको छ । मन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्ति नाश गर्ने काम नगर्न भनेको छ ।

‘आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्‍याउने कार्य नगरिदिनु हुन नेपाल सरकार सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्