काठमाडौं । जल तथा मौसम विज्ञान विभागमा वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई महानिर्देशक नियुक्त गरिएको छ । वरिष्ठ सहसचिवहरूलाई छाडेर कमलराम जोशी महानिर्देशक नियुक्त भएका छन्। जोशी विभागका सहसचिवहरूमध्ये चौथो नम्बरका हुन् ।
विभागका प्रथम श्रेणीका सहसचिवहरूमा क्रमशः सरजुकुमार वैद्य, डा. जगदीश कर्माचार्य, रामगोपाल खर्बुजा, कमलराम जोशी, डा. अर्चना श्रेष्ठ र राजन भट्टराई छन्। विभागको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट विभागका पदाधिकारी हेरफेर हुने गर्छन् । जोशीले गत साता विभागको जिम्मेवारी सम्हालेका छन् । ‘सहसचिवहरू मध्ये सबैभन्दा सिनियर महानिर्देशक हुने चलन थियो, चलन मिचिएको छ, थिति बिग्रिएको छ’, विभागका एक वरिष्ठ अधिकारीले भने । वरिष्ठहरूलाई पहिलो पटक यसरी पाखा लगाइएको ती अधिकारीले प्रष्ट्याए। विभाग ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय मातहत छ। यसअघिका महानिर्देशक वैद्य जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन् ।
उनी ३ वर्षअघि विभागमा महानिर्देशक नियुक्त भएका थिए । वरिष्ठहरूमध्ये दोस्रो नम्बरका कर्माचार्यलाई कर्णाली प्रदेशको ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । खर्बुजा ऊर्जा मन्त्रालयको जल, मौसम तथा वातावरण महाशाखा प्रमुख छन् । डा. श्रेष्ठ जल तथा मौसम विज्ञान विभागमा महाशाखा प्रमुख र भट्टराई जल विज्ञानतर्फका उपमहानिर्देशक छन् । वैद्य एक दशकअघि, कर्माचार्य ८ वर्षअघि र खर्बुजा ६ वर्षअघि प्रथम श्रेणीमा बढुवा भएका थिए । नवनियुक्त महानिर्देशक जोशी प्रथम श्रेणीमा बढुवा भएको ३ वर्ष पूरा भएको छैन।
उनी यसअघि विभागको बाढी पुर्वानुमान महाशाखा प्रमुख थिए। २ फागुनसम्म विभागका निवर्तमान महानिर्देशकसहितका अधिकारी जिम्मेवारी हेरफेर हुनेबारे अनभिज्ञ थिए । ‘हामी सधैँझैँ कार्यालय पुगेका थियौँ, महानिर्देशक परिवर्तन हुने सामान्य सङ्केत पनि थिएन’, विभागका अर्का एक वरिष्ठ अधिकारीले भने, ‘मन्त्री, सचिवले खै ‘के’ आधारमा हाकिम नियुक्त गर्नुभयो, म मात्र होइन, विभागका अधिकांश कर्मचारी छक्क परेका छौँ ।’ ती अधिकारीकाअनुसार निवर्तमान महानिर्देशक वैद्यले आफ्नो सरुवा भएको र नयाँ महानिर्देशक नियुक्त गरिएको औपचारिक जानकारी गत २ फागुनमा कार्यालय पुगेपछि मात्र थाहा पाएका थिए ।