प्रदेश २ मा चेम्बरले गर्‍याे एक महिने कार्यक्रमकाे घाेषणा



जनकपुरधाम : दीपावली र छठ पर्वको अवसर पारेर धनुषा चेम्बर अफ कमर्सले एक महिने कार्यक्रमको घोषणा गरेको छ । जनकपुरको भानु चाेकस्थित चेम्बरको कार्यलयमा गरिएकाे पत्रकार सम्मेलनमा एक महिने कार्यक्रमबारे जानकारी गराइयो ।

 

प्रदेश २ सभा सदस्य परमेश्वर साहको प्रमुख आतिथ्यतामा २० गते जानकी वृद्धाश्रममा साडी, फलफूल र मिठाई वितरण, २४ गते प्रदेश २ प्रमुखको प्रमुख आतिथ्यतामा छठ पर्व गर्ने ब्रतालु एक सय जना महिलाहरुलाई साडी, पाँच केजी गहुँ र एक केजि सखर वितरण गर्ने कार्यक्रमबारे महासचिव कृष्णदेव साहले जानकारी दिए ।

 

एकसय जना छात्र-छात्रालाई पोशाक वितरणदेखि विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगितासम्मको कार्यक्रम तय भएको धनुषा चेम्बरका अध्यक्ष विजय साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

एक महिने कार्यक्रममा लाग्ने खर्चहरु चेम्बरका पदाधिकारी आफैंले व्यवस्थापन गरेको र बजारबाट कुनै किसिमको चन्दा वा नगद नउठाएको अध्यक्ष साहको भनार्इ थियो ।

समाजकै अंग व्यापारीहरु पनि रहेको कारण आफ्नो दायित्व निर्वाह गरेको अध्यक्षको स्पष्टाेक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्