हुम्ला दुर्घटना : १० यात्रुसहितकाे जिप कर्णाली नदीमा २१ घन्टादेखि बेपत्ता



हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहे पनि अहिलेसम्म जिप र मान्छेको कुनै निसाना फेला नपरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

खार्पुनाथ गाउँपालिका–५ बाट लु १ ज ७१६६ नम्बरको जीप मंगलबार दिउँसो १२ बजे कर्णाली नदीमा खसेको हो । जिप नदीको भेलमा खसेर हराउँदा त्यसमा सवार सबै १० जना बेपत्ता छन्।

२१ घन्टादेखि नदीमा बेपत्ता यात्रु जिउँदो भेटिने सम्भावना नरहेको पोखरेलले बताए। सहायक प्रजिअ पोखरेका अनुसार बेपत्ता यात्रुको खोजीको लागि बुधबार बिहान चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोरसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्ला प्रस्थान गरेको छ।

मंगलबरदेखि नै स्थानीय हेलिकप्टरको सहायतामा प्रहरी र नेपाली सेनासहितको टोलीले घटनास्थलमा जिप र यात्रुको खोजी गरिरहेका छन्। प्राविधिक जनशक्तिको अभावमा हराईरहेका यात्रुको खोजीमा समस्या भएपछि गोताखोर मगाइएको प्रजिअ पोखरेलको भनाई छ। 

दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह, कौसा दमाई, उनका दुई वर्षीय छोरा र काठमाडौँ थानकोटका बेल्डिङ मास्टर राजु श्रेष्ठ छन्।

जिप चालक मणिजंग शाही भए पनि जिप चन्द्र हमालले चलाएको पाइएको प्रजिअ पोखरेलले बताए। घटनास्थलमा सेना, प्रहरीको टोलीसँगै बिहानैदेखि स्थानीय पनि बेपत्ता यात्रुको खोजीमा खटिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्