अायल निगमले ताेक्याे सवारीअनुसार इन्धन, माेटरसाइकललार्इ पाँच लिटर मात्रै



काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको बिक्री वितरणमा कोटा तोकेको हो ।

 

नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनलाई तोकिएको कोटाअनुसार बिक्री वितरण गर्न भनेको छ । निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारीसाधन कार, भ्यान, आदिलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारीसाधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

 

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न निर्देशन दिइएको छ । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ । आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ ।

 

इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो । पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ । निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ ।

 

सामान्यतः आयात रोकिँदाको अवस्थामा पनि ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने निगमले बताउने गरेको छ । तर आयात रोकिएको तीन दिन नबित्दै वितरणमा कोटा तोके पनि निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले भने पर्याप्त इन्धन स्टक रहेको दाबी गरे ।

 

‘दुई गतेदेखि रक्सौल डिपोबाट तेल आएको छैन, सिलीगुढी डिपोबाहेक अन्य नाकाको अवस्था पनि त्यस्तै छ’, उनले भने । यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उनले हाहाकार मच्चिहाल्ने अवस्था भने नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्