पानी अभावले होटल, रेष्टुराँ बन्द, वर्षाको पानीले मात्र जोगाउन सक्छ ?



नयाँदिल्ली : भारतमा खानेपानी अभावले होटल, रेष्टुराँ बन्द भएको छ ।  भारतको चेन्नाईमा पानीको भरम अभाव भएको हो । पानी अभावका कारण त्यहाँका रेष्टुराँ र होटलहरु बन्द गरिएको  छ । 

रेलवे स्टेशनलाई वातानुकुलित बनाउन छाडिएको छ भने कतिपय कार्यालयका कर्मचारीहरु  घरमै बसेर काम थालेका छन् । सरकारी अधिकारीहरुले भनेका छन्, ‘पानीका स्रोतहरु सबै सुकेका छन् । अब वर्षाले मात्र चेन्नाईलाई जोगाउन सक्छ ।’

चेन्नाईका सबै क्षेत्रमा पानीको अभाव भएपछि अहिले जमिन मुनिबाट पानी निकाल्न नयाँ–नयाँ ठाउँको खोजी भइरहेको छ । नयाँ बोरवेल खन्ने काम भइरहेको छ र भएका बोरवेललाई अझै गहिरो खनिँदै छ । 

चेन्नाईमा हरेक महिना २०–३० वटा बोरवेल खनिन्छ । अहिले दुई महिनाको अवधिमा ४० वटा बोरवेल गाडि सकिएको छ ।

चेन्नाई जल विभागले कतिपय स्थानमा ट्यांकरबाट पानी वितरण गर्दै आएको छ । मानिसहरु पानी लिन घण्टौंसम्म लाइनमा बस्न बाध्य छन् । कतिपय ठाउँमा पानी थाप्ने क्रममा झडप समेत हुने गरेको छ भने झडपमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु छ । 

पानीको अभावले चेन्नाईको स्थिति एकदमै बिग्रिएको छ  । यो अवस्था अझै धेरै बिग्रिने चेतावनी अधिकारीहरुले दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्