नेपाली टोेली सम्हाल्न आइपुगे भलिबल प्रशिक्षक हान



काठमाडौं : नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ बुधबार नेपाल आइपुगेका छन्। नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आएका हुन्।

हानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरे। पाचौं संस्करणको उक्त प्रतियोगिता आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म सञ्चालन हुनेछ। हान पहिलोपटक नेपाली प्रशिक्षकका रूपमा नेपाल आएका हुन्।

उनी तीन महिनाका लागि नेपाली टिमसँग रहनेछन्। प्रशिक्षक हानले नेपाली भलिबलको बारेमा थोरै ज्ञान भएको बताए। उनले छोटो समय भए पनि नेपाली टोलीलाई लागि शतप्रतिशत योगदान दिएर आफ्नो कार्यकाल स्मरणयोग्य बनाउने विचार व्यक्त गरे।

भलिबल प्रशिक्षणमा २५ वर्ष लामो अनुभव रहेको हानको प्रशिक्षणचले सेन्ट्रल जोनमा नेपालले राम्रो नतिजा ल्याउने नेपाल भलिबल संघको विश्वास छ। हानले सन् १९९७ देखि २००४ सम्म डच भलिबल टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए। हान सन् २००४ देखि २००८ सम्म जर्मन बुण्डेसलिगा महिला भलिबल टोलीको मुख्य प्रशिक्षक थिए। उनले सन् २००८ मा जर्मन कपको उपाधिसमेत दिलाएका थिए।

त्यसैगरी २००९ देखि २०१३ सम्म जर्मन वुमन यु–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका थिए। जसमा उनले विश्व यु–२० महिला च्याम्पियनसिपको उपाधि जिताएका थिए। सन् २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको राष्ट्रिय टिम यु–२१ को पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए। हानले भोलि बिहीबारदेखि नेपाली टोलीलाई प्रशिक्षण गराउनेछन्। 

प्रतिक्रिया दिनुहोस्