एमसीसी पास गर्न एमालेलाई फकाउँदै देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल सुरु भएको हो ।

संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी छन् ।

एमसीसीलाई संसदमा छलफलमा लैजान कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

एमसीसीमा सहमति जुटाउन आजको बैठक सारेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् । एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने जनाएपछि पारित गराउन प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको साथ खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्