कुहिएको चामल बिक्री गर्ने खाद्य कम्पनीलाई मुद्दाको तयारी



काठमाडौं । ४८७ क्विन्टल कुहिएको बासमती चामल रि-पोलिसिङ गरी उपभोक्तालाई झुक्याएर बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीविरुद्ध मुद्दा दायर हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा प्रक्रियाका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रायका लागि पठाएको छ ।

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत महोनप्रकाश चन्दको बयान लिई विभागले मुद्दा प्रक्रियाका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । सरकारी वकिल कार्यालयबाट रायपछि अदालतमा मुद्दा दायर हुने प्रवक्ता महर्जनले बताए ।

‘विभागले खाद्य ऐन, २०२३ बमोजिम सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गर्न कम्पनीलाई दसैँअघि नै बयानका लागि पत्र काटेको थियौँ’, उनले भने । उनले समयमा कम्पनीबाट बयान दिन नआएपछि मुद्दा दायरका लागि ढिलाइ भएको बताए ।प्रवक्ता महर्जनले विभागको पटकपटकको ताकेतामा करिब ५ महिनापछि कम्पनीका कार्यकारी अधिकृत महोनप्रकाश चन्दको बायानपछि मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयमा रायका लागि पठाएको जानकारी दिए ।

प्रवक्ता महर्जनले सरकारी वकिलको कार्यालयबाट राय आएपछि खाद्य ऐन, २०२३ बमोजिम कारबाहीका लागि अदालतमा मुद्दा दयार हुने बताए । खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बयानका लागि बोलाउँदा समयमा नआएपछि मुद्दामा जान ढिलाइ भएको हो । प्रवक्ता महर्जनले भने, ‘सरकारी वकिलको कार्यालयबाट राय आएपछि अदातलमा जाने हो ।’
विभागलाई सिधै अदातलमा मुद्दा हाल्ने कानुनी अधिकार नहुँदा मुद्दाका लागि सरकारी वकिलको कार्यालयमा राय माग गरेको प्रवक्ता महर्जनले जानकारी दिए ।

खाद्य ऐन, २०२३ को दफा ४ अनुसार ‘कुनै एक खाद्य पदार्थलाई अर्काे खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थको भनी ढाँटी वा झुक्याई वा अखाद्य पदार्थ वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनेछ ।’

कम्पनीको प्रधान कार्यालयका विभागीय प्रमुखहरूको ३१ असार २०७८ को निर्देशन पत्रअनुसार कम्पनीको थापाथलीस्थति कार्यालयकले ‘रि-पोलिसिङ’ गरेको सो चामल ट्रकबाट १० टनको दरमा सुर्खेत पठाइएको थियो । कम्पनीले ४८७ क्विन्टल कुहिएको बासमती चामल ‘रि-पोलिसिङ’ गरी ४०१ क्विन्टल चामल बनाएको थियो । कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार थापाथलीबाट जोखतौल र ढाला काँटी गराई सुर्खेत पठाएको थियो । कम्पनीले कसैले थाहा नपाउने गरी २५ किलो कुहिएको बासमती र ७५ किलो नयाँ गरी १ हजार ९९० क्विन्टल चामल बिक्रीका लागि कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत पठाएको थियो ।

सुर्खेतको कार्यालयबाट सो चामल प्रतिकिलो ११० रुपैयाँका दरले बिक्री गरेको हो । खानयोग्य नभएको भन्दै १ पुस २०७६ मा खाद्य प्रविधि विभाग, जिल्ला प्रशासन र खाद्य कम्पनी स्वयंको रोहवरमा ४८७ क्विन्टल २२ किलो बासमती चामल गोदाममै कुहिएको पुष्टि भएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कासमेत गरिसकिएको थियो ।

खाद्य कम्पनीका कर्मचारीको लापर्बाहीले कम्पनीको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल बास्मती चामल कुहिएको समाचार ३ मंसिर २०७६ मा बाहिर आएको थियो । सो विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानविन समेत गरेको थियो । कम्पनीको गोदाम नम्बर २४ मा ३ यस २३ दशमलव १७ क्वीन्टल चामल र ३० नम्बर गोदाममा १६४ दशमलव शून्य ५ क्वीन्टल बास्मती चामलमा कुहिएको थियो । छानविनका क्रममा अख्तियारले खाद्य कम्पनीको गोदाममा रहेको चामल खान योग्य छ छैन भन्दै चेक जाँच गर्न १० वटा नमुना जाँच गरेको थियो । नमुना चाँजका लागि अख्तियारले विभागलाई १६ पुस २०७६ मा निर्देशन दिएको थियो ।

अख्यिातरले विभागलाई दिएको चामलको १० वटा नमुना जाँच परिक्षण गर्दा सबै नमुना फेल भएर खान अयोग्य रहेको प्रतिवेदन २४ माघ २०७६ विभागीय निर्णय अनुसार २८ माघ मै २०७६ विभागले गुणस्तर अनुरुप नभएको उक्त ४८७ मे टन बास्मती चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बोधार्थ दिई परिपत्र जारी गरी सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्