पाम आयल निर्यातमा ‘रेकर्ड ब्रेक’



काठमाडौं । पछिल्लो समय पाम आयल निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ७ महिनामा पाम आयल ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यो गत वर्षको तुलनामा ७७ लाख १३ हजार ४४२ दशमलब ०८ प्रतिशतले वृद्धि हो । ७ महिनामा पाम आयलको निर्यात ७७ लाख प्रतिशतले वृद्धि भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, सत्य नै यही हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ७ महिना र गत वर्षको सोही अवधिको निर्यातको तुलनामा गर्दा पाम आयल ७७ लाखभन्दा बढी प्रतिशले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाम आयल जम्मा ४ लाख ४३ हजार रुपैयाँको मात्र निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको ७ महिनामा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएकामा पाम आयल ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको हो ।

यसैगरी सोयाबिन आयल ३६ अर्ब ८५ करोड ३४ लाख ३७ हजार रुपैयाँको निर्यात भएको छ ।

गत वर्ष सोही अवधिमा १९ अर्ब ५९ करोड ६ लाख ७४ हजार रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा सोयाबिन आयल पनि ८८ दशमलब १२ प्रतिशतले वृद्धि बढी निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले पाम आयल निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए । उनले चालू आर्थिक वर्षको ७ महिनामा पाम आयल निर्यातमा निकै वृद्धि भएको बताए ।

गत वर्ष भारतले पाम आयलमा रोक लगाउँदा जम्मा ४ लाख ४३ हजार रुपैयाँको मात्र पाम आयल निर्यात भएको उनले बताए । चालू आर्थिक वर्षको ७ महिनाको निर्यात तथ्याङ्क हेर्दा अहिलेसम्मकै धेरै निर्यात हुने देखिएको वरिष्ठ अधिकृत बजागाईंले बताए ।

सोयाबिन आयल र पाम आयलले निर्यातमा ठूलो वृद्धि भएको उनले बताए । पाम आयल र सियाबिन आयलको निर्यातले चालू आर्थिक वर्षको ७ महिनामा अन्तर्राष्ट्रिय व्यापार ८८ दशमलब ३० प्रतिशत निर्यातमा वृद्धि भएको वरिष्ठ अधिकृत बजागाईंको भनाइ छ ।

यसैगरी नेपालमा दूधबाट उत्पादित १ अर्ब २० करोड रुपैयाँ बराबरको छुर्पी जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात भएको छ । यसैगरी विभागको तथ्याङ्कअनुसार यो ७ महिनामा धागो ७ अर्ब ५२ करोड २१ लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको तुलनामा ५५ दशमलब १६ प्रतिशतले वृद्धि हो ।

गत वर्ष सोही अवधिमा धागोको निर्यात ४ अर्ब ५४ करोड ९ लाख ५७ हजार रुपैयाँ बराबर भएको थियो । यसैगरी ७ महिनामा कार्पेटको निर्यात ५ अर्ब ७ करोड ६ लाख ७५ हजार रुपैयाँ बराबर मूल्यको निर्यात भएको छ ।

कार्पेटको निर्यात पनि गत वर्षको तुलनामा २१ दशमलब ७० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा ४ अर्ब १७ करोड ११ लाख ९ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्