भारतीयलार्इ नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा



विराटनगर : झुठो बिवरणमा नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष, सदस्य र वडा सचिवसहित १६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

 

झुठो बिवरणमा सिफारिस गर्ने विराटनगर महानगरपालिका -१ का वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिनासहित आफ्ना छोराहरु हुन् भनेर झुठा बिवरण पेश गर्ने मोरङ कटहरी गाप -१ का ५५ वर्षीय सत्यनारायण पोद्दारसहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो बिवरणमा सर्जमिन गर्ने पाँच जना नेपाली नागरिकविरुद्ध जिल्ला अदालत मोरङमा आइतबार मुद्दा दर्ता भएको हो ।

 

उनीहरु सबैलाई अलग–अलग ६ वटा अभियोग तैयार गरी झुठा बिवरण पेश गरी नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको जिल्ला न्यायाधिबक्त्ता पुण्यप्रसाद पाठकले जानकारी दिए।

 

बावु बनेर नागरिकता दिलाउने मुख्य अभियुक्त विराटनगर कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षीय सत्यनारायण पोद्दारले भारतको बिहार जदिया भन्ने स्थानमा बस्ने २२ वर्षीय संजिब पोद्दार, २० वर्षीय धिरज पोद्दार, जितेन्द्र पोद्दार, २५ वर्षीय राजेन्द्र पोद्दार, २५ वर्षीय रोशन कुमार पोद्दार, १८ वर्षीय मिथीलेस पोद्दार, १९ वर्षीय पवन पोद्दारलाई आफ्नो छोरा बताएर बंशजको आधारमा नागरिकता सिफारिस गराएका थिए ।

 

पाँच जनाको उनले नागरिकता बनाइसकेका थिए भने दुई जनाको नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा पोल खुलेको थियो । झुठो बिवरणमा सर्जिवन गर्नेहरूमा विराटनगर १ की ४७ वर्षीय सिमा देवी राम, सोही वडाका ५३ वर्षीय मनोज हर्रिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोशीगाउँपालिका १ बस्ने ४५ वर्षीय सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने ४३ वर्षीय बैजनाथ शर्मा छन् ।

 

प्रहरीले अहिलेसम्म नागरिकता बनाइदिने मुख्य अभियुक्त सत्यनारायणमात्र पक्राउ गरेको छ । अन्य फरार छन् । अभियोग पत्रमा झुठो नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष, सदस्य र वडा सचिवसहित सर्जमिनमा साक्षी बस्नेहरुलाई पक्राउ पुर्जी जारी गरिदिन अदालत समक्ष माग गरिएको छ । यसैगरि पैसा लिएर सिफारिस गर्ने वडा सदस्य र वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धानबाट पनि कार्वाही माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्