हामीलाई बाबुको शव देऊ– खशोग्जीका छोराहरु



वासिङ्टन :  हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकारसमक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् ।

 

अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् । 

 

खशोग्जीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महावाणिज्यदूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आएका छन् । 

 

सीएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्जी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताए । 

 

टर्कीका सरकारी वकिलहरुले जमाल खशोग्जीलाई महावाणिज्यदूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताएका छन्। उनले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताए । 

 

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोआनका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्जीको हत्यापश्चात् शवलाई तेजाबमा डुबाइएको हुन सक्ने बताएका छ । 

 

खशोग्जीको हत्याको संयुक्तराज्य अमेरिका समेत विश्वभरबाट निन्दा र भर्त्सना गरिएको छ । खशोग्जीका छोराहरुले बाबुले गरेका कार्यहरुलाई राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएको आशंकासमेत व्यक्त गरेका छन् । 

 

सलाहले सीएनएनसँग भने, “मलाई जमालबारे अति राजनीतीकरण हुन थालेको लागेकाे छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही हुनुहुन्थेन । उहाँको अटल विश्वास राजतन्त्रप्रति थियो ।” 

 

अब्दुल्लाहले बुबाको हत्याबारे स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताए । उनले प्राप्त जानकारीहरु भ्रमित गर्ने किसिमका रहेको जानकारी दिए । उनले भने, “यो सामान्य परिस्थिति होइन र उनकाे मृत्यु सामान्य पक्कै होइन ।” 

 

सलाहले जोड दिँदै भने, साउदी राजाले दोषीहरु सबैलाई कानुनको कठघरामा उभ्याउने बताएका छन् । मलाई राजाको वचनप्रति विश्वास छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्