पौडेल निवासमा संस्थापन इतर समूहको बैठक                      



काठमाडाैं : महासमिति बैठक सर्ने निश्चित भएसँगै नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा इतर पक्षका नेताहरुको बैठक सोमबार बिहान बसेको हो।

 

मंसिर ५ देखि ९ सम्मको महासमिति बैठक स्थगित भएपछि नयाँ मिति तोक्नका लागि मंगलबार केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। मंगलबारको बैठकमा आफ्नो समूहको समान धारणा बनाउनका लागि नेताहरु आन्तरिक तयारीमा जुटेको बताइएको छ। बैठकमा पौडेलसहित प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, नवीन्द्रराज जोशी, अमरसिंह पुन लगायतका नेताहरु सहभागी थिए। 

 

मंगलबार डाकिएको केन्द्रीय समिति बैठक, विधान र नेविसंघका विषयमा छलफल भएको बताइएको छ। नेविसंघको उमेर हद पारित भएसँगै पार्टीमा संस्थापन र इतर समूहको दुरी बढेको छ। साथै, महासमिति बैठक पर धकेलिएपछि नेताहरुका फरकफरक अभिव्यक्ति आएका छन्।

 

संस्थापन पक्षले विधानमाथि छलफलका लागि पर्याप्त समय नहुने कारण देखाएर बैठक सार्नुपरेको तर्क गरेको छ। इतर समूहले भने संस्थापन पक्षको नियत नै महासमिति बैठक सार्ने भएको आरोप लगाएको छ। बैठक करिब तीन घन्टा चलेको थियो।

प्रतिक्रिया दिनुहोस्