काठमाडौं बाहिर प्रकाशमानलाई कसैले चिन्दैनन्: महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिका लागि डा.शेखर कोइराला उपयुक्त रहेको दाबी गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने महामन्त्री कोइइरालाले दाबी गरे ।
संस्थापनइतर समूहबाट दाजु शेखर मात्र सभापतिमा जित्ने उम्मेदवार भएकाले पौडेल र सिंहले बाटो छाड्नु पर्ने उनको भनाइ छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौंबाहिरका नेता–कार्यकर्ताले नचिन्ने भन्दै उनी शेखरको पक्षमा उभिएका छन् ।
प्रकाशमान काठमाडौंमै घेरिएरको आरोप लगाउँदै साथीहरूसँग आत्मीयता नदेखिएको र काठमाडौं बाहिर नचिन्ने डा. शशांकको टिप्पणी छ । ‘प्रकाशमानको बारेमा भन्दाखेरी नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौंबाहिर निक्लिनेबित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन्,’ उनले भने, ‘हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो । तर, साथीहरूसँग उहाँको आत्मीयता म देख्दिनँ ।’
पार्टी सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासमेत समेटेर शेखरलाई सभापति बनाउनु पर्ने उनको दृष्टिकोण छ । तर त्यसका लागि शेखरले सबैलाई समेट्नु पर्ने महामन्त्री डा. शशांकको सुझाव छ ।
उनले नेता पौडेलले एकचोटि चुनाव लडिसकेकाले अब छाड्पर्ने बताए । ‘रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुप¥यो । किनभने, सिटौलाजीसँग पनि धेरै मान्छे छन् । उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने देउवाजी हामीसँग हार्नुहुन्छ,’ उनले भने । महामन्त्री कोइरालाले दाजु शेखर कोइरालाले सभापति जित्ने भए अरू नेताहरूलाई पनि उनले मिलाउनुपर्ने उल्लेख गरे ।


आफूविरुद्ध दुष्प्रचार : सिंह
कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् ।
विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा उनले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरु असभ्य भएको उल्लेख गरे ।
महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनि दिएको अभिव्यक्तिप्रति जवाफ दिँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए ।
उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे । ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म,’ उनले भने, ‘आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानोको के छ के छ भन्दै उफ्रने ?’
नेता सिंहले पहिले पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतबस हुन थालेको भन्दै कडा आक्रोश पोखे ।
आफू १२ औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न अनुरोध गरे । नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गरे ।
आफू प्रकाशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए ।

प्रतिक्रिया दिनुहोस्