प्रधानमन्त्रीले सर्वोच्चको विवाद समाधान गर्न पहल गर्नुहुन्छ : माधव नेपाल



काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश विवाद प्रकरण समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् । बिहीबार धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत भएको बताए ।’सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटोभन्दा छिटो समाधान हुनुपर्दछ । सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि राजनीतिक समन्वय समितिले गरेको छ । यसका लागि प्रधानमन्त्रीज्यूले आफ्नातर्फबाट पहल गर्नुहुन्छ,’ नेपालले भने ।

यस्तै, नेपालले सुदूरपश्चिममा पार्टी नम्बर १ रहिरहने दाबी गरेका छन्। प्रदेश पार्टी कार्यालयको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘यो त्यही भवन हो, जुन ठाउँबाट हिजो हामीले निर्माण गरेको एमाले पार्टीको प्रदेश कार्यालय थियो, आज यही ठाउँमा एकीकृत समाजवादीले झण्डा फहराउँदा खेरी सुदूरपश्चिममा नम्बर १ पार्टी बनेको छ, बन्दै आएको छ बन्दै पनि जाने छ, यो सन्देश पनि हो,’ उनले भने। तत्कालीन नेकपा पार्टी भएका बेला यही भवनमा पार्टी कार्यालय कसको हुने भनेर विवाद हुँदै आएको थियो।

अध्यक्ष नेपालले त्यसबेला कुकुर, भैंसी, संगुर लगायतका घाँटीमा पार्टी पद लेखेको कुराप्रति व्यंग्य गर्दै एमालेको प्रवृत्ति त्यसले उजागर गरेको बताए।‘एमाले त्यस्तै प्रवृत्तिका मान्छेहरूको पार्टी बन्न पुगेको छ, त्यहाँ राम्रा, सुसंस्कृत मान्छेहरू, कम्युनिष्ट आदर्श भएका हैनन्, गैर कम्युनिष्टको पार्टी बन्दैछ,’ उनले भने। अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श भएको पार्टी एकीकृत समाजवादी रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्