सहरकाे मुहार फेर्ने वडाध्यक्षकाे अचम्मकाे शैली



जनकपुरधाम : मानिसको रहर अनि इच्छा फरक फरक हुन्छ । सबैको रहर समान हुन्छन् भन्ने छैन । यस्तै बेग्लै रहर बोकेर अरुभन्दा छुट्टै काम गर्दै आएका छन् जनकपुर उपमहानगर ४ का वडाध्यक्ष सुदर्शन सिंहले ।

 

उनी आफ्नो वडामा रहको एउटा गल्लीलाई देशकै नमुना गल्ली बनाउन लागिपरेका छन् । स्मार्ट गल्ली नाम दिइएको उक्त गल्लीमा वडाध्यक्ष सिंहले एउटा फरक काम गरेका छन् ।

 

विद्यापति चोकदेखि करिब पाँच सय मिटरपूर्वमा रहेको गल्लीको आसपास ४५ घर छन् । प्रत्येक घरअगाडि एकैनासको एउटै स्टाइलमा एकै रङ प्रयोग गरिएको छ । केशर रङ प्रयोग गरिएको पर्खालले त्यहाँ जाने जोकोहीको मन लोभ्याउँछ ।

 

गल्लीको पर्खालमा प्रयोग भएको नमुना बाटो हेर्नकै लागि पनि अन्य ठाउँबाट मानिसहरु आउने गरेका स्थानीय शैलेन्द्र मल्लिकले बताए । वडाध्यक्ष सिंह भन्छन्, ‘उपमहानगर स्मार्ट बनाउने पहिलो खुड्किलोस्वरुप गल्ली बनाएको हुँ ।’

 

उनले थपे, ‘प्रत्येक वालमा मिथिला पेन्टिङ र प्रत्येक घरअगाडि गमला पनि राख्ने योजना बनाएको छु ।’ यस्तो काम थाल्दा केही स्थानीयले नचाहिने काम गर्न लागेको भने पनि अहिले उनको काम देखेर सबै खुसी भएका छन् ।

 

वडाध्यक्ष भए पनि सरकारी सेवा सुविधा नलिएका उनले गल्लीमा भएको ४५ घरमा घरनम्बर घरधनीको नामसमेत राखिने बताए । नजिकिँदै गरको दीपावलीमा यस्तो पेन्टिङले उपमहानगर नै उज्यालो भएको भन्दै स्थानीय खुसी भएका छन् । साथै उनले थालेको कामले १५ दिनभित्रै पूर्णता पाइसक्ने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्