कांग्रेस महाधिवेशन: उदयपुरमा तीन क्षेत्रको परिणाम सार्वजनिक



उदयपुर । नेपाली कांग्रेस उदयपुरका ४ प्रदेशसभा अधिवेशनमा एकठाउँमा मतपत्र च्यातिएको छ । बाँकी ३ प्रदेशसभाको मत गणना भने शान्तिपूर्ण सम्पन्न भएको छ । ४ केन्द्रमध्ये प्रदेश १(क) को मतगणनामा बिबाद उत्पन्न भएपछि मतपत्र च्याताच्यात भएको पार्टीले जनाएको छ ।
उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा बिबाद भएसँगै मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको छ । मतदान दिउसो शान्तपूर्ण सम्पन्न भएपछि गन्ने क्रममा बिबाद उत्पन्न भएपछि झडप हुने संभावना टार्न हाललाई गणना स्थगित गरिएको पार्टीका प्रवक्ता मदनराज कटुवालले बताए । उनका अनुसार त्यहाँ मोहनसेर राई र खेसबहादुर मगरबीच दुई प्यानलमा चुनाव भएको थियो ।
लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए ।
बाँकी ३ प्रदेशसभा अधिवेशनको भने विहानै मत परिणाम सार्वजनिक भएको छ । सदरमुकाम गाईघाट समेटिएको प्रदेश १ (क) मा सरोज बस्नेत प्रतिस्पर्धी देवीकुमारी चौधरीभन्दा ११ मत बढी ल्याएर सभापति जितेका छन् । उनले २ सय ९३ मत पाउँदा चौधरीलाई २ सय ८२ मत परेको छ। ३ सय ७९ मत खसेको चुनावमा बस्नेतको प्यानलै विजयी भएको प्रवक्ता कटुवालले बताए । बस्नेत पूर्व सभापति हिमाल कार्की खेमाका हुन् ।
उता प्रदेश १(ख) मा कार्की खेमाकै अर्जुन दाहाल सभापति जितेका छन् भने सचिव पदमा बस्नेत खेमाका सभापति उम्मेदवार जय सुबेदीको प्यानलका पदम खड्काले बाजी मारेका छन् । प्रदेशसभा क्षेत्र १ (ख) मा बस्नेत खेमाका राम पोखरेललाई हराउँदै कार्की खेमाका कृष्ण थापा सभापतिमा विजयी भएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्