नेपाल हिन्दू राष्ट्र नै होः भाजपा प्रवक्ता शास्त्री



पोखरा । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।
नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै भएको उनले दाबी गरे । शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै भाजपा प्रवक्ता शास्त्रीले भने,‘संविधान एउटा कुरा हो । संविधानबाटै प्रशासनिक व्यवस्था चल्ने हो । तर, सामाजिक व्यवस्था, सामाजिक प्रणालीबाटै चल्ने हो । सामाजिक प्रणाली हेर्दा कसैले भन्न सक्दैन कि नेपाल हिन्दु राष्ट्र होइन ।
लोकसभाका पूर्वसांसद समेत रहेका शास्त्री हिन्दु धर्मसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं, जनकपुर हुँदै पोखरा पुगेका हुन् ।
‘काठमाडौंमा बहुत ठूलो सभालाई सम्वोधन गरें, जुन दलित उत्थानकै लागि थियो । दलित मुक्ति जागरण अभियानको माध्यमबाट मैले २५ पेजको लिखित भाषण गरें, उनले भने, ‘मलाई पूरा विश्वास छ, त्यो नेपालका लागि निकै महत्वपूर्ण दस्तावेज हुने छ । त्यो अभिलेख त्यति नै महत्वपूर्ण भारतका लागि पनि छ ।’
पोखरामा प्रवक्ता शास्त्रीले कास्की पुम्दीभुम्दीमा निर्मित विशाल महादेवको मूर्तिको दर्शन गरेका छन् ।
प्रवक्ता शास्त्रीले पैसाको भरमा धर्म परिवर्तन गराउने काम भइरहेको बताउँदै अब जनताले बुझिसकेको बताए । ‘हामीले सामाजिक एकताको कुरा गरिरहेका छौं र कसैले सुझबुझका साथ विभेद गर्ने काम गर्छ भने, धर्म परिवर्तनको कुरा गर्छ भने, पैसा दिएर धेरै योजना पूरा गराउन खोज्छ भने, त्यो सामाजिक एकताको विरुद्ध छ,’ उनले भने । हिन्दु धर्मले विभेद गरेको छ भनेर भ्रम फैलाउने काम भइरहेको बताउँदै उनले यसका विरुद्ध अभियान नै चलाउन शास्त्रीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्