काठमाडाैंले भित्री सडकलाई प्राथमिकतामा राखेर काम थाल्याे



काठमाडौँ : खाल्डाखुल्डीका कारण सर्वसाधरणले सास्ती व्यहार्ने परेपछि काठमाडौँ महानगरपालिकाले भित्री सडक सुधारलाई प्राथमिकता दिन थालेकोे छ । 

 

कतिपय सडक कालोपत्र गर्ने र कतिपयमा ढुङ्गा वा इँटा छाप्ने काम धमाधम भइरहेको महानगरपालिकाले जनाएको छ । नेपाल सरकार र जनप्रतिनिधिले भित्री सडक सुधारका लागि चासो देखाएपछि सडक सुधारको काम अघि बढाइएको हो । कम चौडाइका सडक विस्तार र कालोपत्र एकसाथ भइरहेको छ । 

 

केही समय पहिले भित्री सडकको अवस्था खराब रहेकमा अहिले सुधारको क्रममा रहेको महानगरपालिका अन्तर्गत भौतिक पूर्वाधार महाशाखाका प्रमुख राम थापाले बताए ।

 

गत आर्थिक वर्षमा भित्री सडकका लागि ५८ योजना थिए । यी योजनाअन्तर्गत झण्डै ३० किलोमिटर सडकमा कालोपत्रेलगायत सुधारका काम भइरहेको छ । उनले भने, 'एक वर्षमा सक्ने योजना भए पनि कतिपय काम अहिले पनि चालु छ ।' 

 

वडा नम्वर ४, ६, १४, १६ र ३२ मा भौगोलिक हिसाबले ठूला छन् । ती वडामा सडकलगायत भौतिक पूर्वाधारको विकास गर्न बाँकी छ । अहिले सञ्चालनमा रहेका योजनामा सकेसम्म सबै वडालाई समेट्ने गरेर समानुपातिक योजना बनाइएको छ । प्रमुख थापाले भने, 'बढी धुलो र हिलोले गर्दा स्थानीयवासीले बढी दुःख पाएका सडकलाई हामीले प्राथमिकतामा पारेका छौँ ।' 

 

जनप्रतिनिधि आएपछि सडक निर्माण र कालोपत्रका लागि केन्द्रित भएको उनले बताए । 

 

गत आवमा काम शुरु भएको सडकका योजनामध्ये जम्मा २५ प्रतिशत काम बाँकी रहेको प्रमुख थापाले जनाए । सडक विस्तारका लागि अर्थ मन्त्रालयले गत आवमा रु ७५ करोड महानगरपालिकालाई दिने सहमति भएकामा अहिलेसम्म रु २५ करोड मात्रै दिए पनि बाँकी कामलाई नरोक्ने उनले बताए ।

 

कामपाले आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट विनियोजन गरेकामा भौतिक पूर्वाधार निर्माणका लागि रु चार अर्ब छ करोड बजेट छुट्याइएको थियो ।

 

कामपाभित्र करिब एक हजार ४ सय ५० किलोमिटर पक्की सडक भएकामा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्