प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म महासभा हुँदैछ । महासभामा सहभागी हुन महानिरीक्षक थापासँग प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाइ प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले विदाइ गरेका थिए । महासभामा १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, द्विपक्षीय छलफललगायतका कार्यक्रम रहेका छन् ।
नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशका प्रतिनिधिसँग विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक थापाको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्