सकभर सहमति गरौं, नभए स्वच्छ प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री देउवा



सुनसरी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक निर्वाचनमा सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । सहमति नभए स्वच्छ प्रतिस्पर्धा गर्न पनि सभापति देउवाले आग्रह गरेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत प्रदेशसभा निर्वाचन चलिरहँदा र अब महाधिवेसन तथा जिल्ला अधिवेसन हुन लागेको बेला पार्टी सभापति समेत रहेका देउवाले जित हारलाई एउटा स्वाभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले सुनसरी देवानगञ्जमा आइतबार आयोजित कार्यक्रममा भने,‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा सकभर सर्वसहमत गरौं, यदि त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धा गरौं ।’ उनले चुनावी प्रतिस्पर्धामा जाँदा हारलाई सहजै स्वीकार गर्नुपर्ने बताए ।
उनले पराजित हुनेले कहिल्यै दुस्मनको भावना लिन नहुने सुझाए । देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्दै पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे ।
उनले पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई सकभर सर्वसम्वत नभए लोकतान्त्रिक पद्धतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गरे ।
पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराए ।
उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । देवानगञ्ज गाउँपालिका भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले भवनसँगै वीपी कोइरालाको अर्धकदको शालिक पनि अनावरण गरे ।

प्रतिक्रिया दिनुहोस्