बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो



बैतडी : बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जना घाइते भएका थिए । घाइते मध्ये जिप चालक डडेल्धुरा घर भएका ४० वर्षीय दीपक मालीको पनि मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । उनको उपचारका लागि डडेल्धुरा अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खडकाले जानकारी दिए । सात जना सवार उक्त जिप दुर्घनामा हुँदा घटनास्थलमै दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ५८ वर्षका हर्कबहादुर चन्दको उपचार भइरहेको छ । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्