साविक विजेता मछिन्द्रले एनआरटीलाई २–१ ले हरायो



काठमाडौं । सुनिल बलको दुई गोलमा साविक विजेता मछिन्द्रले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो खेलमा छिमेकी प्रतिद्वन्द्वी एनआरटीलाई २–१ ले हराएको छ । यससँगै मछिन्द्रले उपाधि रक्षा अभियानमा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्रले १२औँ मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो । विशाल राईको सुन्दर पासलाई नियन्त्रणमा लिएर सुनिल बलले पेनाल्टी बक्सको दायाँ कर्नरबाट हानेको प्रहारलाई एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाउन सकेनन् । त्यसको दुई मिनेट बित्न नपाउँदै विशाल राईले अग्रता दोब्बर बनाउने सुन्दर मौका गुमाए । पेनाल्टी क्षेत्रबाहिर विपक्षी रक्षकबाट खोसेर हानेको प्रहार थोरैले मात्र बाहिरिएको थियो ।
५४औँ मिनेटमा एनआरटीका एरिक विष्टले बराबरी गोल फर्काए । उनले बाँया भागको झण्डै ३५ यार्ड टाढाबाट पहिलो बार च्यापेर हानेको ’फ्री किक’मा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ मूकदर्शक बनेका थिए ।
खेल सकिन १० मिनेट बाँकी हुँदा सुनिलले अर्को थपेपछि मछिन्द्रको तीन अङ्क पक्का गरेको हो । कप्तान सुजल श्रेष्ठको क्रसलाई सुनिलले ६ यार्ड बक्सभित्रबाट गोल गरेका थिए । गत सिजन मछिन्द्रले एनआरटीलाई १–० ले हराएको थियो । २०७५ मा भने मछिन्द्र र एनआरटीले ५–५ को बराबरी खेलेका थिए ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका विमल घर्तिमगरले पनि आज खेले थिए । २०७६ मा लिगको अन्तिम खेल त्रिभुवन आर्मी क्बलविरुद्ध खेलेपछि विमलले घरेलु प्रतियोगिता खेलेका छैनन् । राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लागेको थियो । विमल आज ७९औँ मिनेटमा अभिषेक रिजालको स्थानमा मैदान छिरेका थिए ।
२३औँ मिनेटमा पनि मछिन्द्रले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । सुनिल बलले पेनाल्टी बक्सको दायाँ कर्नरबाट हानेको प्रहारलाई एनआरटीको गोलकिपर अजीतले बचाइदिएका थिए । रिबाउन्डमा प्राप्त बललाई सुजलले नियन्त्रणमा लिएर हानेको प्रहारलाई अभिषेक रिजालले पोस्टको दिशा दिएका थिए । तर, अभिषेक ’अफसाइड’ भएका कारण गोलले मान्यता पाएन ।
५२औँ मिनेटमा एनआरटीले बराबरी गर्ने मौका खेर फालेको थियो । एरिक विष्टको फ्रीकीकमा शिव गुरुङले पोनाल्टी क्षेत्रबाट हानेको हेडले थोरैले बाहिरिएको थियो । ७४औँ मिनेटमा बैकल्पिक खेलाडी मनिष डाँगीले गोल गर्न चुके । उनले पेनाल्टी क्षेत्रबाहिरबाट हानेको सशक्त प्रहार एनआरटीका गोलकिपर अजीत प्रजापतिले मुश्किलले बचाएका थिए । मनिष ६०औँ मिनेटमा नुर्लान नुभ्रोजोभको स्थानमा मैदान छिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्