काँग्रेस प्रदेश २ को सभापतिमा मन्त्री यादवको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ को सभापति पदमा रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । दललाई प्रदेश २ मा थप मजबुत बनाउने र संगठन बिस्तार तथा सुदृढीकरणको लक्ष्यका साथ सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए ।
यादवले आफूले प्रदेश सभापति पदमा जितेमा प्रदेश २ मा काँग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै काङ्ग्रेसको सुविधा सम्पन्न प्रदेश कार्यालय भवन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
२०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका यादवले १४ वर्ष नेपाली काँग्रेस धनुषाको सभापति भएर काम गरिसकेका छन् भने उनी नेपाल विद्यार्थी संघ धनुषाको जिम्मेवारीमा समेत रहेका थिए ।
अर्को प्रशंगमा यादवले काँग्रेसको केन्द्रीय सभापति पदका लागि नेता विमलेन्द्र निधि नै उपयुक्त पात्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्