देउवाको गृहजिल्ला डडेल्धुरामा ‘एकपक्षीय’ अधिवेशन, जिल्ला सभापतिमा साउद निर्वाचित



डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवादका बीच पनि जिल्ला अधिवेशन सम्पन्न भएको छ। सातौं जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनबाट भीमबहादुर साउद जिल्ला सभापति चयन भएका छन्। कांग्रेस निर्वाचन समितिका अनुसार साउद ७३४ मत ल्याएर जिल्ला सभापतिमा विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी चूडामणि ठकुराठीले ७६ मत मात्र पाए। कूल ८८४ मतदातामध्ये ८३४ मत खसेको थियो। विजयी साउद परशुराम नगरपालिकाका मेयर पनि हुन्। दुवै उम्मेदवार संस्थापन अर्थात् देउवा पक्षका हुन् । वडा अधिवेशनदेखि नै यहाँ विवाद भएको थियो। क्रियाशील सदस्यतामा देखिएको विवादपछि जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशनमा भाग नै लिएको थिएन। गत भदौ २५ मा वडा अधिवेशन भएको थियो। पालिका, प्रदेश, प्रदेश सभा क्षेत्र हुँदै प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन पनि सभापति देउवा पक्षले एकलौटी हिसाबले सम्पन्न गरेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा एकलौटी अधिवेशन भएकोले खारेज गरी नयाँ अधिवेशन गर्न माग गर्दै उजुरी परेको छ। सात दिनदेखि जिल्ला सभापति मल्लसहित कार्यकर्ता सानेपामा रिले अनशनमा बसेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा एकलौटी हिसाबले अधिवेशन भएकोले रोक्न माग गरेका छन्। जिल्लाबाट पठाइएका क्रियाशील हटाएर केन्द्रबाट नयाँ नाम थपेर पठाइएको भन्दै डडेल्धुरामा विवाद छ।जिल्ला अधिवेशन रोक्न सभापति मल्लले सोमबार केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्