एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको बुझाइ समान : महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना (एमसीसी)को व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको उनले बताए । एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको उल्लेख गरे ।

‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ ।’

विदेशी सहयोगलाई लिएर नेपाली कांग्रेसको फरक फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतले बताए । उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताए ।

संसद्ले एमसीसीलाई अपनत्व गरेको भन्दै त्यसलाई अब सदुपयोग गर्नेतिर लाग्ने उनले बताए । महतले एमसीसी अनुमोदन गराउन भूमिका खेल्ने सबै वर्ग र क्षेत्रका मानिसलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्