५ हजार बढी रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी



एजेन्सी । रुसले आफ्नो देशमा आक्रमण गरेपछि भएको संघर्षमा ५ हजार भन्दा बढी रुसी सैनिकको मृत्यु भएको युक्रेनले दाबी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षमा सुरुका चार दिनमा ५ हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

करिब ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क,२९ वटा हेलिकप्टर २९ वटा लडाकु विमान र सैनिकहरू बोक्ने ८१६ वटा सवारी नष्ट पारिएको दाबी युक्रेनले विज्ञप्तिमार्फत गरेको छ ।

तर यसको स्वतन्त्र पुष्टि गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ। तर बेलायको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारोक्ति गरेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो। तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन।

संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका सङ्घर्षहरूमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्