जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिन्छ : कानुनमन्त्री कार्की



संखुवासभा । प्रदेश नम्बर-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताएका छन् ।

संखुवासभाको धर्मदेवी नगरपालिका-७ स्थित आँखिभूइमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवन उद्घाटन कार्यक्रममा कानुन मन्त्री कार्कीले प्रहरीलाई सुख दुस्खमा सधैँ साथ दिने बताए । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहयोग गरिरहेको उनको भनाइ छ ।

संघीय सरकारले अधिकार नदिए पनि प्रदेश सरकारले प्रहरीका लागि छाना र नाना दिइरहेको मन्त्री कार्कीले बताए । नयाँ भौतिक संरचना तयार भएसँगै अब शान्ति सुरक्षा दिलाउन प्रहरीलाई सहज हुने र यसमा नागरिकको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुने कानुन मन्त्री कार्कीले बताएका छन् ।

शान्ति प्रहरी कहाँ खोज्ने हैन प्रहरीलाई समेत शान्ति दिन वातावरण मिलाउन स्थानीय सँग मन्त्री कार्कीले अनुरोध गरे । बाढी, पहिरो, आगलागी जस्ता विपतमा खटिने प्रहरी नै पानी चुहिने भवनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले अव सुविधा सम्पन्न भवन बनाइदिनेसमेत उनले बताए । अपराध नियन्त्रण गर्न प्रहरीको सक्रियताले मात्र नपुग्ने र आम नागरिक पनि सक्रिय हुनुपर्ने कार्कीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय भवन प्रदेश सरकारको दुई करोड ९४ लाख ९४ हजार ६९९ रुपैयाँको लागतमा निर्माण भएको हो । भवनको निर्माणको जिम्मा मार्गदेवी एस एस विनायक जेबी निर्माण कम्पनीले पाएको थियो ।

गत २०७६ माघमा सम्झौता भएको इलाका प्रहरी कार्यालय भवन समयावधि भन्दा तीन महिना अघिनै सम्पन्न गरेर हस्तान्तरण गरिएको एस एस विनायक जेबी निर्माण कम्पनीका निर्देशक लाखबहादुर पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्