को बन्ला प्रदेश ३ को भौतिक योजनामन्त्री ? यी हुन् आकांक्षी



काठमाडौं : मुख्यमन्त्रीसँगको विवादका कारण केशव स्थापित बर्खास्तीमा परेपछि प्रदेश ३ को भौतिक योजना तथा विकास मन्त्रालयमा को जाने भनेर ने क पार्टीभित्र चर्चा शुरू भएको छ । प्रदेश विकासको महत्त्वपूर्ण अंग मानिएको भौतिक योजना तथा विकास मन्त्रालयको प्रगति शून्य भएको यही विषयमा भनाभन भएपछि स्थापित हटाइएका थिए ।

केही दिनमै मन्त्री नियुक्त हुने मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिएका छन् । मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार पौडेलले मन्त्री नियुक्त  गर्ने विषयमा तयारी गरेको भए पनि नाममा विषयमा कुनै चर्चा भएको छैन । 

प्रदेशको संरचनाअनुसार मन्त्री हटाउने र राख्ने मुख्यमन्त्रीकै तजबीज भएकाले त्यसमा पार्टीले सल्लाह, सुझावमात्रै दिन सक्ने ने क पाका प्रदेश सचिव आनन्दप्रसाद पोखरेल बताउँछन् ।

नव गठित ने क पाभित्र प्रदेशको नेतृत्वमात्रै बाँडफाँड भएको र कमिटीले पूर्णता नपाइसकेकाले पार्टीभित्र यस विषयमा छलफल भइहाल्ने अवस्था छैन । तथापि यो विषय पार्टी कमिटीले निर्णय गर्ने विषय नभई प्रदेशको मुख्यमन्त्रीकै ‘बिजनेस’ भएको पोखरेलको भनाइ छ ।

को-को छन् चर्चामा ?

प्रदेश–३ को भौतिक योजना तथा विकास मन्त्रीमा रामेश्वर फुयालले जाने इच्छा व्यक्त गरेका छन् । ०७० सालका काठमाडौं–३ बाट प्रतिनिधिसभामा निर्वाचित फुयाल यसपटक सोही निर्वाचन क्षेत्रका प्रदेश खबाट निर्वाचित भएका थिए । प्रदेश मन्त्रिमण्डलमा काठमाडौंबाट प्रतिनिधित्व गर्नेको सख्या नभएकाले पनि उक्त मन्त्रालय काठमाडौंले नै पाउनुपर्ने उनको दाबी छ । काठमाडौंका १० निर्वाचन क्षेत्रबाट वामगठबन्धका १६ उमेदवारले प्रदेश सभामा जित हासिल गरेका थिए । तर, स्थापितमात्रै मन्त्रिमण्डलमा थिए ।

यस विषयमा मुख्यमन्त्री र पार्टीले निर्णय लिने फुयालको भनाइ थियो ।

त्यस्तै काठमाडौं–५ को (क)बाट निर्वाचित सांसद नारायण सिलवाल, ६ (ख)का योगेन्द्रराज संग्रौला, ७ (क)बाट निर्वाचित सांसद वसन्तप्रसाद मानन्धर, ९ (क)बाट निर्वाचित अजयक्रान्ति शाक्य, लगायत नेताहरूको नाम चर्चामा रहेको ने क पाका नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्