कर्णाली सरकारको चार महिनाको उपलब्धी सार्वजनिक



सुर्खेत । कर्णाली प्रदेशको गठबन्धन सरकारले आफ्नो चारमहिने उपलब्धी सार्वजनिक गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले कात्तिक १६ गते आफू नियुक्त भएदेखि अहिलेसम्म ७ किलोमिटर सडक कालोपत्रे भएको उपलब्धीसहितको विवरण सार्वजनिक गरे ।
उनले अहिलेसम्मको कार्यावधिमा १९४ दशमलव ५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको र २३ दशमलव ३ किलोमिटर सडकको स्तरोन्नती भएको बताए । यस्तै, दुई पक्की पुल, एक झोलुंगे पुल र जनता आवास कार्यक्रम अन्तरगत ७७८ जनता घर निर्माण भएको उनले बताए ।
अहिले एक स्थानीय तह एक विद्यालय भौतिक संरचना निर्माणको कार्यक्रम अगाडि बढेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले उर्जा खानेपानी तथा सिंचाईतर्फ ३५१ , भौतिकतर्फ २१३ , सशर्त अनुदानतर्फ २८५ , मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत १०५५ र पूर्वाधार विषेश कार्यक्रम अन्तरगत १० जिल्लामा ५५३ योजना कार्यान्वयनका चरण्मा रहेको बताए ।
यस्तै प्रतिपक्षी दलसँग भएको सहमति अनसार टुक्रे योजनाका लागि छुट्याइएको ८३ करोड ७८ लाख ८४ हजार फिर्ता गरिएको शाहीले बताए ।
मुख्यमन्त्री शाहीले आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको राजश्व संकलन लक्ष्य बमोजिम भइरहेको बताए । उनका अनुसार हालसम्म लक्ष्यको ५३.५५ प्रतिशत अर्थात ३२ करोड १३ लाख राजश्व संकलन भएको छ ।
यस्तै, हालसम्म सरकारले चालुतर्फ १८.७० प्रतिशत र पुंजीगततर्फ ९.२४ प्रतिशत गरि कुल १२.९९ प्रतिशत बजेट खर्च भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्