एमाले महाधिवेशनमा जनता जुटाउन प्रभु साह सक्रिय



गौर । नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा जनसहभागिता जुटाउन पूर्वमन्त्री एवम् जनपरिचालन कमिटीका सह–संयोजक प्रभु साहको सक्रियता बढेको छ ।
मङ्सिर १० गते चितवनमा हुने महाधिवेशनको उद्घाटन सभामा जनता जुटाउन प्रदेश २ का विभिन्न जिल्लामा सक्रियता बढाएका नेता साहले मंगलबार रौतहटका सबै तहका नेता कार्यकर्ताको भेला आयोजना गरी सभामा अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिएका हुन् ।
गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै नेता साहले रौतहट कम्युनिष्टको भूमि रहेकोले पनि यहाँबाट सबैभन्दा धेरै सहभागिता रह्ने बताए । हरेक स्थानीय तहको वडा वडाबाट आ–आफ्नो ब्यानरसहित अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिदै नेता साहले भरतपुरबाट एमालेले देशलाई नयाँ संदेश दिने बताए ।
चितवन सभाका लागि नेता साहले सक्रियता बढाएसंगै स्थानीय स्तरमा सो कार्यक्रमका विषयमा व्यापक उत्साह वृद्धि भएको छ । यसअघि नेता साह तत्कालीन नेकपाको प्रदेश अध्यक्ष रहँदा उनकै पहलकदमी गरुडामा झण्डै दुई लाख नागरिकको सहभागितामा विशाल जनसभा आयोजना गरिएको छ । सो सभामा तत्कालीन प्रधानमन्त्री ओली नै प्रमुख अतिथि थिए । अहिले एमाले अध्यक्ष ओलीले चितवनमा हुने कार्यक्रममा पाँच लाखको सहभागिता रहने घोषणा गरेका छन् । जनपरिचालनमा कुटिल मानिने प्रभु साहलाई प्रदेश २ बाट एक लाख भन्दा बढी सहभागी गराउन पार्टीले जिम्मा दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्