सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी: गृहमन्त्री खाँण



रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन्। नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणले बताए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका– ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि नेपाली कांग्रेसका नेता÷कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए ।
सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाणको भनाइ थियो ।
हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताए । रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मत छिटोभन्दा छिटो उपलब्ध गराउने आश्वासन दिए ।
गृहमन्त्री खाणले सरकारले कृषि र शिक्षालाई बढावा दिनेगरी काम गरिरहेको बताए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘केही समयमा मल उपलब्ध हुन्छ । त्यस्तै कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र विजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस्