मोरङमा कोइराला–पौडेल समूह विजयी



विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन सकिएका मोरङका चारवटा संघीय निर्वाचन क्षेत्रको मतगणना जारी छ । दुई स्थानमा पौडेल–कोइराला पक्षका उमेदवार विजयी भएका छन् ।
क्षेत्र नम्बर २, ३, ४ र ६ मा मतगणना जारी छ । पदाधिकारीमा भने क्षेत्र नम्बर–६ मा डा. शेखर कोइराला पक्षका क्षेत्रीय सभापति देवराज तामाङ नेतृत्वको प्यानल विजयी भएको छ ।
तामाङले ३२० मत ल्याएर विजयी भएका हुन् । उनका निकदतम प्रतिद्वन्द्वी चेतराज रेग्मीले २१२ मत हासिल गरेको निर्वाचन समितिले जनाएको छ । रेग्मी संस्थापन पक्षबाट उठेका थिए ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार समानुपातिकको थारुतर्फबाट र मधेसी महिलाबाट पुनम सिंह निर्विरोध महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका थिए । यहाँ कुल ५५० मत खसेकोमा १५ मत बदर भएको थियो ।
क्षेत्र नम्बर–२ मा पनि मतगणना जारी छ । त्यहाँ मंगलबार राति ११ बजेसम्म मतदान जारी थियो । ६८२ मध्ये ६७२ मत खसेको छ ।
क्षेत्र नम्बर–३ मा समेत कोइराला समूह अगाडि रहेको बताइएको छ । क्षेत्रीय सभापतिमा गणेश खड्काको प्यानलले अग्रता लिएको बताइएको छ । यो क्षेत्रमा ५११ मत खसेको छ । यो क्षेत्रमा संस्थापन पक्षबाट राजेन्द्र ढकाल सभापतिमा उठेका छन् ।
क्षेत्र नम्बर–४ मा मतगणना सुरु भएको छ । यो क्षेत्रमा नेता महेश आचार्यले समर्थन गरेका विनोद बस्नेत र पौडेल–कोइराला पक्षबाट वसन्त हुमागाईं सभापतिमा उठेका छन् ।
क्षेत्र नम्बर–५ मा भने जीवछ गच्छदार सर्वसम्मत निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका तर्फबाट केन्द्रीय सदस्य अमृत अर्यालको समर्थनमा उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस्