बलात्कारको आरोपमा पक्राउ परेका सांसद मोहन बानियाँ निलम्बित हुने



काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।

‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने ।

उनका अनुसार संसदको आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घटनेछ ।

जुम्लाकी माओवादी नेतृको उजुरीको आधारमा सांसद बानियाँ पक्राउ परेका हुन् । १८ माघमा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै शिक्षक शाहीले गत २७ माघमा उजुरी दिएकी थिइन् ।

सो उजुरीपछि पक्राउको आदेश लिए पनि लामो समय फरार रहेका बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । हाल बाँके जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका सांसद बानियाँलाई आज अदालतमा म्याद थपका लागि उभ्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्