म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल आफू प्रधानमन्त्री पदमा नरहेपनि प्रधानमन्त्रीभन्दा कम नरहेको दाबी गरेका छन् ।
बुधबार कैलालीको धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हुन त म अहिले प्रधानमन्त्री पदमा छैन तर, प्रधानमन्त्री भन्दा कम छैन ।’ उनले यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताए । प्रचण्डले माओवादी केन्द्र बलियो भने यो राष्ट्र बलियो हुने बताए ।
उनले भने, ‘मैले नै दुई पटक प्रधानमन्त्री बनाए केपी ओलीलाई । तर, उनी नायक रहेनन् खलनायक भए । ‘मैले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगे’, उनले भने ।
आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए । प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’
उनले अगाडि भने, ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिष्टलाई एक गरेपछि देशमा स्थायीत्व होला, छिटोछिटो विकास होला, सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईचोटी प्रधानमन्त्री बनाएँ । तर ती नायक होइन, खलनायक परेछन् । भिलेन पर्या हुनाले मैले भनेको जति केही काम नगर्ने ।’
भूमि व्यवस्था मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि महोत्तरीमा लालपूर्जा वितरणको प्रक्रिया सुरु भएको भन्दै प्रचण्डले अन्य प्रदेशमा पनि त्यस्तै कामको थालनी गर्ने आश्वासन दिए । ‘भर्खरै भूमि व्यवस्था मन्त्रालय हाम्रो बनेपछि महोत्तरी जिल्लामा लालपूर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ । अब पश्चिम, मध्य, पूर्व सबैतिर एकैसाथ लालपूर्जा वितरण गर्न सकिने छ,’ प्रचण्डले भने । उनले कैलाली जिल्लाको विकासका लागि पनि आफूले पहल गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्